नेपाली समाजको चरित्र धेरै विशेष र विरोधाभासपूर्ण छ। एकतर्फ हामी न्याय,समानता र मानवताका बारेमा धेरै कुरा गर्छौँ,अर्कोतर्फ हामी समाजकै एक भागलाई सधैं उपेक्षा गर्छौँ। सुकुम्बासी व्यवस्थापनको मुद्दा यसको एक उदाहरण हो। यो केवल प्रशासनिक समस्या मात्र होइन,बल्कि यो आम जनताको मत,राजनीति र मानवीय संवेदना जोडिएको गम्भीर मुद्दा हो।
सुकुम्बासी बस्ती Credit: myRepublica |
हरेक निर्वाचनमा सुकुम्बासी बस्तीहरू राजनीतिक दलहरूका लागि एउटा आकर्षक भोट बैंक बन्ने गर्छन्। उनीहरूको मत सुरक्षित गर्नका लागि सुरक्षित आवास, लालपुर्जा र स्थायी व्यवस्थापनका आश्वासनका चाङहरू बाँडिन्छन्। विडम्बना, चुनाव सकिएपछि तिनै जनता र तिनका मतको मूल्य एकाएक शून्य बन्न पुग्छ। जब व्यवस्थापनको कुरा आउँछ, राज्य संयन्त्र र समाजको एउटा वर्ग उनीहरूलाई अतिक्रमणकारी को विल्ला भिराएर डोजर चलाउन उद्यत देखिन्छ। नदी किनारका असुरक्षित बस्तीहरूमा पाल टाँगेर बसेका नागरिकहरूलाई वैकल्पिक व्यवस्था नै नगरी हटाउन खोज्नु कतिसम्म न्यायसंगत होला?
समाजको चरित्र यहाँ अनौठो छ। हामी शहर सुन्दर बनाउन चाहन्छौं, तर शहर बनाउने मजदुर र घरहीनहरूको समस्य प्रति हामी आँखा बन्द गर्छौं। घरहीन समस्या समाधानको लागि हामीले सही तरिका अपनाउनुपर्छ। राज्यले वास्तविक घरहीनहरूको पहिचान गरी उनीहरूलाई काम र सम्मानजनक बसोबासको सुनिश्चित गर्नुपर्छ।
जनताको आवाजको सम्मान र घरहीनहरूको समस्या समाधान नभएसम्म हाम्रो समाज अधूरै रहन्छ।
सबैमा चेतना आओस्।